News २८ बिगालाई सेन्ट्रल कलेज भरतपुर च्याम्पियनसिपको उपाधि
गोलनेपाल

चितवन । सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको उपाधि २८ बिगाले जितेको छ । शनिबार सम्पन्न उपाधि भिडन्तमा आबुखैरेनीलाई हराउँदै २८ बिगा च्याम्पियन बनेको हो ।

फाइनलमा २८ बिगाले आबुखैरेनीलाई २-० ले हरायो । २८ बिगाको जितमा सृजन क्षेत्री र लक्षु थापाले गोल गरे । २८ बिगाले खेलको ५३ औं मिनेटमा सृजनको गोलमा अग्रता लिएको थियो ।

७७ औं मिनेटमा आबुखैरेनी ९ खेलाडीमा सीमित भयो । देव गुरुङले दोहोरो पहेँलो कार्ड पाए भने सौगात प्रताप गुरुङले सिधै रातो कार्ड पाए । २८ बिगा पनि १० खेलाडीमा सीमित भयो । उसका सुजित बुढाथोकीले रातो कार्ड पाए ।

आबुखैरेनी ९ खेलाडीमा सीमित भएको फाइदा उठाउदै २८ बिगाले गोल थप्यो । खेलको अतिरिक्त समयमा सृजनको एसिस्टमा लक्षुले गोल गरेपछि २८ बिगा २-० ले विजयी हुँदै च्याम्पियन बन्यो । एक गोल र एसिस्ट गरेका सृजन म्यान अफ दि म्याच भए ।

विजेता २८ बिगाले तीन लाख ३ हजार प्राप्त गरेको छ । उपविजेतामा सीमित आबुखैरेनीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । आबुखैरेनीका आकाश थापा प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए ।

२८ बिगाका रन्जित चौधरी उत्कृष्ट डिफेन्डर तथा सोही क्लबका गोलकिपर विरेन्द्र सारु मगर उत्कृष्ट गोलकिपर घोषित भए । उनीहरुले जनही ५-५ हजार रुपैयाँ र चौकीडाँँडाबाट प्याराग्लाइडिङको अवसर प्राप्त गरेका छन् । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा चितवन ११ फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा १२ टोली सहभागी थिए ।

Post Comments