News वाइल्ड बोअरलाई उपाधि
सुरज राना मगर

बुटवल । फराकिलो जितका साथ प्रथम स्व. बबुवा दाई स्मृति खुला फुटसल प्रतियोगिताको उपाधि वाइल्ड बोअर एफसीले जितेको छ । लुम्बिनी फुटसलमा भएको फाइनल भिडन्तमा वाइल्ड बोअरले गोर्खा ब्वाईज स्पोर्टस क्लबलाई ८–३ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको वाइल्ड बोअरले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता गोर्खा ब्वाईजले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ वाइल्ड बोअरमा सौरभ ठाकुर उत्कृष्ट गोलरक्षक बन्दा गोर्खा ब्वाईजका निराजन खत्रीले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी वाइल्ड बोअर कै सुमन लिम्बु घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी अखिल नेपाल फुटबल सघ (एन्फा) का उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार), स्व. बबुवा दाई (मक्सुद अली) का धर्मपत्नी सबिना अली, दिदी मुना सिद्दीकी, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, महासचिव हिमाल गौचन लगायतले पुरस्कृत गरेका थिए ।

आस्था समूह, बुटवलको आयोजनामा भएको दुई दिने प्रतियोगितामा कुल ३० टोलीहरुले सहभागिता जनाएको प्रतियोगिता संयोजक भुवन श्रेष्ठले जानकारी दिए ।

Post Comments