News चौथो मिल्स गोल्डकपमा एपिएफ पकलीको विजयी शुरुवात
गोलनेपाल

बिराटनगर । शुक्रबारदेखि शुरु भएको चौथो मिल्स गोल्डकप नकआउट फुटबल प्रतियोगितामा एपिएफ, पकलीले विजयी शुरुवात गरेको छ ।

जुट मिल खेलमैदानमा भएको उद्घाटन खेलमा एपिएफले बर्दिबास नगर खेलकुद विकास समिती, महोत्तरीलाई ४-१ ले हराउँदै विजयी शुरूवात गरेको हो ।

एपिएफको जितमा हरि कार्कीले दुई गोल गरे भने दिशन राई र धन बहादुर श्रेष्ठले थप एक/एक गोल गरे । उता बर्दिबासका लागि पवन पाख्रीनले एक मात्र सान्त्वना गोल फर्काए ।

खेलमा एपीएफका हरि कार्की म्यान अफ द म्याच समेत चुनिए । यो जितसँगै एपिएफ सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बैशाख ८ गते शनिबारको खेल पेमा युवा क्लब, बिराटनगर र पियर फूटबल क्लब, धरान बीच हुने आयोजकले जानकारी दियो ।

मिल्स गोल्डकप फुटबल ट्रष्ट, बिराटनगरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,११,१०० हात पार्नेछ भने उपविजेताले १,११,१०० हात पार्नेछ । फाइनल खेल बैशाख १५ गतेका दिन हुनेछ ।

Post Comments