News किकस्टार्ट टोटनहम एकेडेमी खुला ट्रायल सम्पन्न
गोलनेपाल

काठमाडौं । टोखा भगवती क्लब टोखाको पहलमा संचालित किकस्टार्ट टोटनहम खुला ट्रायल सम्पन्न भएको छ । ट्रायलमा कुल ३५ सय भन्दा धेरै खेलाडीहरुको सहभागिता रहेको थियो । छनोटको पहिलो दिन १८ सय र दोस्रो दिन १७ सयभन्दा धेरै खेलाडीहरु सहभागी भएका हुन् । नेपालमा भएको फुटबल ट्रायलमा यतिधेरै संख्यामा सहभागी भएको यो पहिलो पटक हो ।

च्यानलस्थित एन्फा फुटबल मैदानमा भएको छनोटको पहिलो दिन चार उमेर समूहका १८०० भन्दा धेरै खेलाडी सहभागी भएका थिए । शनिबार यू–११, यू–१३, यू–१५ र यू–१६ गरि चार उमेर समूहका छनोट सम्पन्न भएका थिए । यस्तै, दोस्रो दिन आइतबार यू–१७, यू–१८, यू–१९ र यू–२१ गरी कुल चार उमेर समूहमा छनोट भएका थिए । छनोटबाट एक दर्जनभन्दा धेरै खेलाडी टोटनहमको क्षेत्रीय एकेडेमी किकस्टार्टमा प्रशिक्षणको पहिलो चरणका निम्ति छानिएका छन् ।

टोखा भगवती क्लबको पहलमा सञ्चालित छनोटका निम्ति टोखा नगरपालिकाको विशेष सहयोग रहेको थियो । छनोट भएका टोटनहमको क्षेत्रीय एकेडेमी किकस्टार्टसँग तालिम लिने अवसर पाउनेछन् । उनीहरुलाई क्षेत्रीय एकेडेमीबाट टोटनहमका उच्च स्तरका खेलाडीसँग प्रशिक्षण गर्ने अवसरसमेत पाउने आयोजकले जानकारी दिए ।

Post Comments