News जर्मनीमा काठमाडौं किकर्स च्याम्पियन
गोलनेपाल

नेपालको काठमाडौं किकर्स फुटबल एकेडेमीले जर्मनीको म्युनिखस्थित मोम्मेन्डोर्फमा आयोजित चर्चित युथ लिग भीआर बैंक कपमा यू–१४ तर्फको उपाधि जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम गर्दै किकर्सको यू–१४ टोली च्याम्पियन बनेको हो ।

राउण्ड रोविन लिग र फाइनल चरणका गरि १३ खेल खेलेको किकर्सले ९ खेलमा जित र चार खेलमा बराबरीको नतिजा निकाल्दै ३१ अंक जोड्यो । किकर्सको यस समूहमा जर्मनीको विभिन्न एकेडेमीका अन्य ९ टोली सहभागी थियो ।

टोलीले अन्तिम दिनको खेलमा चारमध्ये तीनमा जित र एकमा बराबरीको नतिजा निकाल्दै उपाधि सुनिश्चित गरेको हो । टोलीले आफ्नो अन्तिम खेलमा एसभी सिलेन्बाकलाई २–० गोल अन्तरले पराजित ग¥यो । टोलीको यो महत्वपूर्ण जितमा आर्यबीर सिंह एक्लैले दुई गोल गरे । आर्यबीर आफ्नो समूहमा सर्वाधिक गोलकर्ता समेत बने । उनले प्रतियोगिता अवधिभर आठ गोल गरे ।

नेपाली टोलीलाई जर्मनीको राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी एवं बुन्डेस लिगा क्लब स्टुटगार्टका पूर्वकप्तान थोमस हिल्सपर्गरले पुरस्कार वितरण गरेका थिए । विश्वकप समेत खेलिसकेका हिल्सपर्गरले नेपाली खेलाडीहरुसँग समेत केही समय विताएका थिए ।

तीन दिनसम्म सञ्चालन भएको यस प्रतियोगिताबाट नेपाली खेलाडीहरुले महत्वपूर्ण अनुभव लिने अवसर पाएको किकर्सका अध्यक्ष नविन पाण्डेले बताए । ‘हाम्रो उदेश्य नेपाली खेलाडीहरुलाई पनि जर्मनीको जस्तो विकसित फुटबल सस्कृतिको अनुभव गराऔं, उनीहरुलाई पनि यो स्तरको फुटबल खेल्ने अवसर दिऔं भन्ने हो,’ अध्यक्ष पाण्डे भन्छन्, ‘मलाई विश्वास छ की नेपाली खेलाडीहरुले जर्मनीको यो प्रतियोगिताबाट त्यो अवसर पाएका छन् । हाम्रो यो उदेश्यलाई साथ दिने खेलाडीका अभिभावक र सहयोगी सबैलाई धन्यवाद दिन चाहन्छु ।’

मोम्मेन्डोर्फ फुटबल क्लबले हरेक वर्ष आयोजना गर्दै आइरहेको यस प्रतियोगिताको यो ५५औं संस्करण हो । प्रतियोगितामा विभिन्न उमेर समूहमा गरी ७६ टोली र २० क्लबका गरी १२ सयभन्दा बढी खेलाडीले भाग लिएका थिए ।

Post Comments