
बुटवल । लिग अवधिभर अपराजित रहँदै यहाँ सम्पन्न रुपन्देही जिल्ला ए डिभिजन लिगको उपाधि फर्साटिकर युवा क्लबले जितेको छ । एक खेल अगावै लिग उपाधि जितिसकेको फर्साटिकरले अन्तिम खेलमा सुनौलो संगम युवा क्लबसँग गोलरहित बराबरी खेल्यो ।
कुल ८ खेलबाट २० अंक जोड्दै शिर्ष स्थानमा रहेको फर्साटिकर लिग च्याम्पियन बन्यो । लिग विजेता बने वापत फर्साटिकरले उपाधिसहित नगद १ लाख ५ हजार हात पार्यो । त्यस्तै १६ अंक जोडेको सुनौलो संगम दोस्रो स्थानमा रहेर लिगको समापन गर्यो । त्यसवापत सुनौलोले नगद ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
त्यस्तै समान १५–१५ अंक जोडेका सिम्रिक युवा क्लब र गोर्खा ब्वाईज स्पोर्टस क्लब क्रमशः तेस्रो र स्थानमा रहे । त्यसवापत सिम्रिकले ३० हजार हात पार्यो भने गोर्खा ब्वाईजले २० हजार प्राप्त गरेको लिग संयोजक मुकेश कुँवरले जानकारी दिए ।
त्यसैगरी विधागततर्फ सुनौलो संगमका प्रतिक क्षेत्री उत्कृष्ट गोलरक्षक बन्दा सुनौलो कै अनुप थापा उत्कृष्ट डिफेन्डर चुनिए । सिम्रिकका दर्शन बिकउत्कृष्ट मिडफिल्डर बन्दा फर्साटिकरका अवतार थापाले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । त्यस्तै उत्कृष्ट प्रशिक्षक फर्साटिकर कै सुजन राना बन्दा लिग कै सर्वोत्कृष्ट खेलाडी फर्साटिकर कै अमृत मल्ले घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार), रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोकन पुन, एन्फा टेक्निकल सेन्टर बुटवलका निर्देशक बुद्धि बहादुर गुरुङ्ग लगायतले पुरस्कृत गरेका थिए ।