News राष्ट्रिय फुटबल टोलीका एक सदस्यमा 'कोभिड पोजिटिभ'
गोलनेपाल

काठमाडौं । महामारी तथा रोग नियन्त्रण विभागले नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको पुष्टी गरेको छ ।

फिफा विश्वकप छनौट तथा एएफसी एसियन कप छनौटको तयारी अघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका सदस्य तथा अन्य अफिसियलहरुको पिसीआर परिक्षण गरेको थियो ।

साथै एन्फाले बिहीबार मात्र परिक्षण गराइएका ५४ जना मध्ये ५३ जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको थियो । त्यसमध्ये बाँकी एकजनाको पिसीआर परिक्षण फेरि गरिने समेत बताएको थियो ।

उता खेलाडीको रिपोर्ट पोजिटिभ आएकोबारे विभागले एन्फालाई जानकारी समेत गराएको छ । यद्यपि एन्फाले संक्रमित खेलाडीको नाम खुलाएको छैन ।

नेपाली फुटबल टोलीले भदौदेखि नेपाल आर्मीको मुख्यालयमा रहेको अभ्यास मैदानमा तयारी थाल्ने कार्यक्रम थियो । तर यहि अक्टुबर र नोभेम्बरमा हुने भनिएको छनौट प्रतियोगिताहरु कोभड–१९ महामारी कै कारण स्थगित भएपछि एन्फाले सबै खेलाडीहरुलाई फुकुवा गरेको थियो ।

साथै एन्फाले आफ्नो भावी कार्यक्रम र योजनाबारे अहिलेसम्म केही घोषणा गरेको छैन । एन्फाले पनि कोभिड–१९ कै कारण बिहीबारदेखि आफ्नो मुख्यालय एक साताका लागि बन्द गरेको छ ।

 

Post Comments