मोरङको सगरमाथा युथ क्लब यहाँ जारी अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
भानु जन माविको मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजकको संघर्ष युथ क्लबलाई २-१ गोलले पराजित गर्दै मोरङले फाइनलमा स्थान सुरक्षित गरेको हो । उपाधि होडमा उक्लिन मोरङका मिलन राईले व्यक्तिगत दुई गोल गरे भने ताप्लेजुङका लागि कप्तान अनुप सेन्दा्ङले एक गोल फर्काएका थिए । खेलको सुरुवाती अग्रता मोरङका मिलन राईले ९ मिनेटमै गरेका थिए । ताप्लेजङले खेलमा फर्कन ६०औँ मिनेट पर्खिनु परेको थियो । जसमा अनुप सेन्दाङको कडा प्रहार प्रमिजय गच्छदारले रोक्न नसक्दा नतिजा बराबरी भएको थियो ।
निर्धारित ९० मिनेटको समयमा १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । जसमा मिलन राई मोरङका लागि भाग्यमानी सावित भए । उनले ९७औँ मिनेटमा गोल गरेर टिमलाई उपाधि नजिक पुराएका हुन् । उनी खेलको म्यान अफ दी म्चाच बने । उनले नगद ५ हजार पाए ।
शनिबार अन्तिम सेमिफाइनल खेल उपाधिको दाबेदार टोली बिर्तामोड युनाइटेड एफसी झापा र सिरहाको सलहेश युवा क्लबले प्रतिस्पर्धा गर्ने छन् । भदौ १० गते हुने फाइनल खेलको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार ५५५ रुपैयाँसहित ट्रफी पाउने छ । गोल्डकप लाखे जात्राको अवसरमा लाखे जात्रा सञ्चालन समितिले आयोजना गरेको हो ।