
पिपरिचापा । रोमाञ्चक जितका साथ जनज्योति युवा क्लब, डिंगरनगर यहाँ जारी प्रथम गौतम बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको प्रिक्वाटरफाइनलतर्फ जनज्योतिले वाणगंगा वेलफेयर सोसाइटी, कपिलवस्तुलाई २–१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्न सफल भएको हो ।
जनज्योतिको जितमा दुवै गोल कमल भट्टराईले गरे । उता पराजित वाणगंगाका लागि बिशाल अधिकारीले पेनाल्टी मार्फत एक मात्र गोल फर्काएका थिए ।
खेलमा निर्णायक दुई गोल गरेका जनज्योतिका कमल भट्टराई म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत भदौ ९ गते आइतबारको खेल मनोभाव एफसी, बुटवल र हरैया युवा क्लब, हरैया बीच हुने खेल संयोजक रोशन पुनले जानकारी दिए ।
गौतम बुद्ध सामुदायिक विकास संस्था, कञ्चन–५, पिपरिचापा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भदौ २० गतेका दिन हुनेछ ।