News रुपन्देहीमा फर्कियो फुटबल, तेस्रो रानीगञ्ज कप शुरु
सुरज राना मगर

बुटवल । कोरोना भाइरस महामारीका कारण ठप्प भएको रुपन्देहीको फुटबल फेरि फर्किएको छ । बिहीबारदेखि बुटवलमा शुरु तेस्रो रानीगञ्ज नकआउट फुटबल प्रतियोगितासँगै रुपन्देहीमा फुटबल फर्किएको हो ।

बुटवल–१७ स्थित भूपू सैनिक खेल मैदानमा शुरु प्रतियोगिताको उद्घाटन खेलमा हरिहरपुर एफसीले विजयी शुरुवात गर्यो । उद्घाटन खेलमा हरिहरपुरले सेभेन स्टार एफसीलाई १–० ले हराउँदै विजयी शुरुवात गरेको हो । हरिहरपुरका लागि कप्तान मिशन दर्लामीले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच पनि दर्लामी नै घोषित भए ।

प्रतियोगिता अन्तरगत मंसिर १९ गते शुक्रबारदेखि दुई खेलहरु हुने खेल संयोजक आशिष पाण्डेले बताए । शुक्रबारको पहिलो खेल बुटवल मिड टाउन र प्रगतिनगर एफसी बीच हुनेछ भने दोस्रो खेल आयोजक रानीगञ्ज युवा क्लब ए र रामनगर एफसीबीच हुने संयोजक पाण्डेले बताए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख खर्च हुने आयोजक रानीगञ्ज युवा क्लबका अध्यक्ष धन बहादुर ठकुरीले बताए । प्रतियोगिताको विजेताले ४० हजार तथा उपविजेताले २० हजार प्राप्त गर्ने समेत अध्यक्ष ठकुरीले जानकारी । साथै अन्य विधागततर्फको पुरस्कारहरुको पनि व्यवस्था गरिएको उनले बताए ।

कुल २१ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने पौष ४ गते हुने आयोजकले जनाएको छ । यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य दिर्घ बहादुर केसी (कुमार) ले गरेका थिए ।

प्रतियोगिता शुरु हुनु अघि गत साता मात्र निधन भएका अर्जेन्टिनी फुटबलका हस्ती डिएगो म्याराडोनाको सम्झनामा मौन धारण समेत गरिएको थियो ।

Post Comments