सुकचर । ‘नव युवाकोरंग, खेलकुदमा उतकृष्ट बुढिगंगा’ भन्ने नाराका साथ शुरु भएको चौथो बुढिगंगा सुकचर च्यालेञ्जप कप खुला नकआउट फुटबल प्रतियोगितामा कुसुमे साइनिङ फुटबल क्लबले उत्कृष्ट शुरुवात गरेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा कुसुमेले गोल्डेन स्टार फुटबल क्लबलाई ३–१ ले हराउँदै उत्कृष्ट शुरुवात गरेको हो । कुसुमेको जितमा मिलन राई, रुकेश माझी र युहान लिम्बुले गोल गरे । पराजित गोल्डेनका लागि भने हर्षित चौधरीले एक मात्र गोल फर्काएका थिए ।
खेलमा कुसुमे साइनिङका मिलन राई म्यान अफ द म्याच चुनिए । यो जितसँगै कुसुमे साइनिङ सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत भदौ ३० गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल चुलाचुली फुटबल क्लब, दमक र बिराट स्पोर्टस एकेडेमी, मोरङ बीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी बुढिगंगा गाएँपालिका, सुकचर मोरङकी उपाध्यक्ष अमृता कुमारी गच्छदारले गरेकी थिईन् ।
नव युवा क्लब, बुढिगंगा–६, सुकचरको आयोजना तथा बुढिगंगा गाउँपालिका, मोरङ र बुढिगंगा गाउँपालिका वार्ड नम्बर ६ को कार्यालयको संयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज ५ गतेका दिन हुनेछ ।