News जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगितामा कटारी र सिक्किमको बिजयी सुरुवात
गोलनेपाल

सिमरा । उदयपुरको कटारी फूटबल क्लब र भारत सिक्किमको रियल फ्रेण्ड भेट्रान क्लबले चौथो अन्तर्राष्ट्रिय जीतपुरसिमरा भेट्रान फूटबल प्रतियोगितामा बिजयी सुरुवात गरेका छन् ।

सिमरा रंगशालामा मंगलबार भएको खेलमा कटारीले वीरगन्ज युथ एकेडेमीलाई २–० र सिक्किमले सर्लाही भेट्रान क्लबलाई २–१ ले पराजित गरेको हो । कटारीको जीतमा अशोककुमार शर्मा र सुवास अङथुम्पोले समान एक–एक गोल गरेका हुन् ।

यसैगरी सिक्किमको जीतमा नर भूपेन्द्र र शम्भु क्षेत्रीले एक–एक गोल गरे भने सर्लाहीका लागि चन्द्रबहादुर स्याङ्तानले गोल गरेका थिए । सर्लाही र सिक्किमबीचको खेल गोलको विषयलाई लिएर केहीबेर रोकिन पुगेको थियो ।

अन्तिम समयमा सर्लाहीले पाहुना टोलीलाई बिजयी घोषित गर्न आयोजकलाई समर्थन जनाएको थियो । सर्लाहीको समर्थनपछि आयोजकले सिक्किमलाई बिजयी घोषित गरेको हो ।

जीतसंगै उदयपुर र सिक्किम प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उदयपुरले अब आयोजक सिमरा भेट्रान क्लब र सिक्किमले सरस्वती नगर भेट्रान क्लब काठमाडौंसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत बुधबार बिहान ६ बजे हाम्रो धरान भेट्रान फूटबल क्लब र ए.बी.सी. भेट्रान क्लब पोखराबीच हुनेछ । यसैगरी दोस्रो खेलमा दिउँसो २ बजे क्लिभ हाउस भेट्रान फूटबल क्लब कोलकत्ता र चितवन भेट्रान फूटबल क्लब चितवनबीच हुने क्लबका सचिव हरी चौधरीले जानकारी दिए ।

असोज ५ गतेसम्म हुने प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार प्राप्त गर्नेछन् । भेट्रान फूटबल प्रतियोगितामा यो राशी देशभरीकै सर्वाधिक रहेको आयोजकको दावी छ ।

यसअघि प्रतियोगिताको उद्घाटन बारा क्षेत्र नंं ४ का प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री किसान श्रेष्ठले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै श्रेष्ठले सिमरा रंगशालाको पूर्वाधार विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।

रंगशालाकै कारण सिमरामा खेलकुदको गतिविधि तिव्ररुपमा अघि बढिरहेको बताउँदै श्रेष्ठले रंगशालाको पूर्वाधार विकास द्रुत गतिमा गर्न आवश्यक रहेको बताए । सिमरा रंगशाला पुग्ने सडक विस्तार गर्न आवश्यक रहेको उनको भनाई थियो ।

Post Comments