News पथरीमा प्रिमियर लिगको रौनक, खेलतालिका पनि सार्वजनिक
गोलनेपाल

पथरी । प्रदेश नम्बर एकको मोरङमा रहेको पथरीमा केही बर्ष यता फुटबल गतिविधीहरु ठप्प प्रायः थियो । तर अहिले त्यहि पथरीमा फेरि फुटबलले नयाँ गति लिने तरखरमा छ ।

“खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मूल नाराका साथ यहि मंसिर २५ गतेदेखि पथरीमा टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग शुरु हुन गईरहेको छ ।

पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोग रहने लिगमा नगर खेलका विकास समिति लगायत अन्य विभिन्न संघ संस्थाहरुले पनि लिग सफल पार्न आ–आफ्नो तर्फबाट सहयोग गरेका छन् ।

स्थानीय स्तर मै फुटबललाई व्यवसायीक रुपमा अघि बढाउने उद्देश्यले पहिलोपटक खेलाडीहरुलाई विभिन्न क्लबहरुले लिलामीमा खरिद गरेका थिए । नगर भित्र रहेका कुल १४४ खेलाडीहरुलाई विभिन्न आठ क्लबहरुले न्युनतम ३ हजारदेखि १० हजारसम्म तिरेर खरिद गरेका थिए ।

लिगको पुरस्कार रकम

लिग विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीलाई १० हजार प्रदान गरिनेछ भने अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार राशीको प्रायोजन पथरी शनिश्चरे समाज हङकङले गरेको छ भने दोस्रो पुरस्कार प्रायोजन देवी डाँडा कन्स्ट्रक्सन, इलामले गरेको छ ।

लिगको इन्टरनेट साझेदार वल्ड लिंक प्रा.लि. रहेको छ भने लिगका सबै खेलहरुको प्रत्यक्ष प्रसारण गोलनेपाल डटकममा हुनेछ ।

सहभागि टोली तथा खेलतालिकाः

लिगमा सहभागि आठ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा रहेका टोलीहरुले लिग चरणमा तीन खेलहरु खेल्ने छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल पौष ११ गते शनिबारका दिन हुनेछ ।

समूह ए मा हिम हाउस हाइवे एफसी, शिखर एफसी, हेरिका न्युस्टार एफसी, श्रीजंगा एफसी रहेका छन् भने समूह बी तर्फ टेन नवोदय एफसी, द रियल ब्रदर्शन एफसी, वाइजीएफटी र देवीगञ्ज एफसी रहेका छन् । प्रतियोगिताको उद्घाटन खेल हिम हाउस हाइवे एफसी र शिखर एफसीबीच हुनेछ ।

हेर्नुहोस खेलतालिकाः

 

Post Comments