News पथरीमा प्रिमियर लिग शुरु, शिखरको उत्कृष्ट पूनःरागमन
गोलनेपाल

पथरी । पहिलोपटक खेलाडी अक्सन (लिलामी) मार्फत खरिद गरि आयोजना गरिएको टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग बिहीबारदेखि शुरु भएको छ ।

पथरी रंगशालामा भएको उद्घाटन खेलमा समूह ए तर्फ शिखर फुटबल क्लब र हिम आउस हाइवे फुटबल क्लबले २–२ गोलको रोमाञ्चक बराबरी खेले । हिम आउसले शुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन पर्यो ।

हिम आउसका लागि ३३औं मिनटमा किमोज राईले पहिलो गोल गरेका थिए । पहिलो हाफ कै इन्जुरी समयमा अमर याक्खाले गोल गर्दै हिम आउसको त्यो अग्रता दोब्बर पारे ।

तर दोस्रो हाफमा शिखर एफसीले उत्कृष्ट पूनरागमन गर्यो । शिखरका लागि ६७औं मिनटमा दिलिप धिमालले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । त्यसको चार मिनट लगतै शुक्र राईले गोल गर्दै खेललाई रोमाञ्चक २–२ को बराबरीमा ल्याउँदै टोलीको सम्भावित हार टारेका थिए ।

खेलको म्यान अफ द म्याच शिखर एफसीका सौर्य राउत घोषित भए । यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच पथरी शनिश्चरे नगरपालिकाका नगरप्रमुख दिलीप कुमार राईले गरेका थिए ।

पौष ११ गतेसम्म चल्ने प्रतियोगितामा पथरी नगरपालिकाका ८ टोलीहरुले सहभागिता जनाएका छन् । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूह चरणमा प्रत्येक टिमले तीन–तीन खेल खेल्नेछन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

लिग विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्नेछ भने अन्य विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका दिपक राईले जानकारी दिए ।

 

Post Comments