News सौभाग्य र सिद्धार्थ क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । आयोजक सौभाग्य युवा क्लब (ए) र सिद्धार्थ युवा क्लब यहाँ जारी प्रथम स्व. प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार बुटवल–७, दिपनगर स्थित सिद्धेश्वरी मैदानमा भएको खेलमा आयोजक सौभाग्यले मजुवा युवा क्लबलाई १–० ले हरायो । सौभाग्यको जितमा सन्तोष क्षेत्रीले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच भने पराजित मजुवाका सागर केसी घोषित भए ।

सिद्धार्थ पनि क्वाटरफाइनलमा

त्यसैगरी बिहीबार नै भएको अर्को खेलमा सिद्धार्थले चरङे युवा क्लबलाई २–० ले हरायो । सिद्धार्थको जितमा दुवै गोल सन्तोष थापाले गरे । थापा नै खेलको म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तरगत मंसिर २६ गते शुक्रबारको खेल आयोजक सौभाग्य युवा क्लब (बी) र झरना स्पोर्टस क्लबबीच हुने प्रचार प्रसार संयोजक कृष्ण कुमालले जानकारी दिए ।

सौभाग्य युवा क्लब, बुटवल–७ दिपनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष दिपक गुरुङले बताए ।

रुपन्देही, पाल्पा र नवलपरासीका गरी कुल २० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने आउँदो पौष ५ गतेका दिन हुने आयोजकले जनाएको छ ।

Post Comments