News फुटबलमा उदाएको माल्दिभ्स, जहाँ एफए च्यारिटी शिल्डसँगै लामो लिगको शुरुवात हुन्छ
गोलनेपाल

काठमाडौं (एजेन्सी) । दक्षिण एसियामा माल्दिभ्स उदाउँदो फुटबल शक्तिका रुपमा अगाडी बढिरहेको छ । दुई बर्षअघि बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपको उपाधि दोस्रोपटक जित्दा पनि माल्दिभ्सले आफूलाई प्रमाणित गर्न सफल भएको थियो । त्यसअघि माल्दिभ्सले सन् २००८ मा पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि जितेको थियो ।

हो त्यहि माल्दिभ्सको घरेलु फुटबलबारे केही चर्चा गर्दैछौं । माल्दिभ्सले पछिल्ला केही बर्ष यता फुटबलमा राम्रो गर्दै आइरहेको छ । उसको घरेलु फुटबल स्थिर र चलायमान पनि छ । अधिकांश खेलाडीहरु घरेलु फुटबलमा व्यस्त रहन्छन् । एसिया कै उत्कृष्ट खेलाडीहरु मध्ये एकमा पर्छन् माल्दिभ्सका वर्तमान फुटबलर अलि अशफाक । उनी जस्ता अन्य उदियमान खेलाडीहरु पनि माल्दिभ्समा अब अगाडी आउँदै गर्ने निश्चित छ ।

चर्चा माल्दिभियन एफए च्यारिटी शिल्डको

माल्दिभ्सको राष्ट्रिय लिग दिवेही प्रिमियर लिग शुरु हुनु अघि ठिक त्यहाँ माल्दिभियन एफए च्यारिटी शिल्डको आयोजना हुन्छ । यो प्रतियोगिता सन् २००९ देखि निरन्तर सञ्चालित हुँदै आएको छ । जहाँ दिवेही प्रिमियर लिग विजेता र माल्दिभ्स एफए कपको विजेताबीच च्यारिटी फुटबल हुन्छ ।

उदाहरणका लागि इङल्याण्डमा प्रतिष्ठित इङलिस प्रिमियर लिग शुरु हुनु अघि एफए कम्युनिटी शिल्डको आयोजना हुँदै आएको छ । युरोपका अन्य देशहरुमा पनि फरक नामले लिग शुरु हुनु अघि यस्ता प्रतियोगिताको आयोजना गरिन्छ । त्यहि शैलीले माल्दिभ्सले पछ्याई रहेको छ ।

च्यारिटी शिल्डमा विभिन्न संघसंस्था वा व्यक्तित्वबाट आर्थिक सहयोग प्रायोजनका रुपमा प्राप्त हुन्छ । त्यसमध्ये विजेता टोलीले ८० प्रतिशत आफ्नो पक्षमा पार्छ भने २० प्रतिशत रकम सामाजिक सेवामा कार्यरत संघसंस्थालाई डोनेसनका रुपमा सहयोग गरिन्छ ।

यसो गर्दा माल्दिभ्समा फुटबल विकाससँगै फुटबलले समाज विकासमा पारेको एउटा सकारात्मक प्रभावलाई पनि छर्लङ्ग पार्ने गर्छ । यो च्यारिटी शिल्ड आयोजनाले फुटबललाई व्यवसायीक क्षेत्र र सामाजिक क्षेत्रसँग एकआपसमा जोड्न अहम भूमिका खेल्ने गर्छ ।

२०२० को च्यारिटी माजियालाई

यसबर्षको माल्दिभियन एफए च्यारिटी शिल्ड यसै साता सम्पन्न भयो । माले स्थित नेशनल फुटबल स्टडियममा भएको खेलमा लिग च्याम्पियन माजिया स्पोर्टसले क्लब इगल्सलाई ३–२ ले हराउन सफल भयो ।

च्यारिटी शिल्डमा ६ पल्ट सहभागिता जनाएको माजियाको यो तेस्रो उपाधि थियो । कोभिड–१९ महामारीका कारण माल्दिभ्समा २०२० को एफए कप स्थगित भएपछि च्यारिटी शिल्डमा इगल्सले लिग उपविजेताका रुपमा अवसर पाएको थियो ।

यसबर्ष च्यारिटी शिल्डका मुख्य आकर्षण रेफ्री कसाई

यस बर्ष च्यारिटी शिल्डकोे मुख्य आकर्षण थिए चर्चित हंगेरियन फिफा रेफ्री भिक्टर कसाई । कसाई उनै रेफ्री हुन् जसले सन् २०११ मा वेम्बली स्टेडियममा भएको प्रतिष्ठित युइएफए च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोना र म्यानचेष्टर युनाइटेडको खेल खेलाएका थिए ।

त्यति मात्र नभएर उनले सन् २०१० को फिफा विश्वकप, २०१२ को युइएफए युरो तथा सन् २०१६ को फिफा क्लब विश्वकप समेत खेलाएका थिए ।

फुटबलमा अन्तर्राष्ट्रिय चर्चित व्यक्तित्वलाई ल्याउँदा त्यसले पक्कै पनि खेलमा प्रभाव पार्ने गर्छ । यस बर्षको एफए च्यारिटी शिल्डमा कसाईको अतिथी आगमनले माल्दिभ्सको फुटबलमा केही हदसम्म थप आकर्षण र फुटबलमा लगानी भित्रिने विश्वास माल्दिभ्सका फुटबल समर्थकहरुको छ ।

माल्दिभ्सको एफए कप र लिग

माल्दिभ्ससमा सन् १९८८ देखि निरन्तर माल्दिभियन एफए कपको आयोजना हुँदै आएको छ । एफए कप जित्ने टोलीले एएसी कपमा समेत सहभागिता जनाउन पाउँछ ।

माल्दिभ्सको लिग पनि ६ महिना वा सो भन्दा बढी समयसम्म चल्ने गर्छन् । एसियाली फुटबल महासंघ (एएफसी) को सबै मापदण्ड पूरा गरेकै कारण माल्दिभ्सका क्लबहरुले एएफसी कपमा समेत निरन्तर सहभागिता जनाउँदै आइरहेका छन् । यस सिजनको दिवेही प्रिमियर लिग यहि डिसेम्बर १३ तारीख (शनिबारदेखि) शुरु हुँदैछ । जुन आगामी बर्ष २०२१ को मई मा समापन हुनेछ ।

माल्दिभ्समा नेपाली खेलाडी

स्मरण रहोस, दिवेही प्रिमियर लिगमा नेपालकै नम्बर एक गोलरक्षक किरण चेम्जोङले टिसी स्पोर्टसका लागि खेलेका थिए । जहाँ उनले आकर्षक पारिश्रमिक पनि पाएको बुझिएको छ ।

त्यतिबेला किरनले टिसी स्पोर्टसबाट सन् २०१८ को लिग समेत जितेका थिए भने लिगको सर्वोत्कृष्ट गोलरक्षक समेत घोषित भएका थिए । त्यस्तै अभिषेक रिजालले पनि जेजे स्पोर्टसबाट माल्दिभ्सको दोस्रो डिभिजनको लिग खेलेका थिए ।

बिदेशी खेलाडीमा लगानी

स्मरण रहोस, माल्दिभ्सले बिदेशी खेलाडीहरुमा पनि राम्रो गर्ने गर्छ । माल्दिभ्सका खेलाडीहरुले दक्षिण एसियाबाट मात्र नभएर एसिया र युरोप कै खेलाडीहरुलाई पनि भित्राउने गर्छ । माल्दिभ्सको लिगमा स्पेन, सर्बिया, जापान, उज्वेकिस्तान, इजिप्ट जस्ता देशका खेलाडीहरुले पनि सहभागिता जनाउँदै छन् ।

बिदेशी खेलाडीहरुसँगको समन्वय र खेल अनुभवले पनि माल्दिभ्सको फुटबल गतिविधि निरन्तर अघि बढिरहेको छ र बढ्ने क्रममा छ । अनि दक्षिण एसिया कै एक उदाउँदो शक्तिका रुपमा आफूलाई उभ्र्यारहेको छ ।

Post Comments