News नेपालको तयारी शुरु, अष्ट्रेलिया र जोर्डन बलियो प्रतिद्वन्द्वी
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले तीन साता लामो बिश्राम पश्चात आइतबारदेखि अभ्यास सत्र शुरु गरेको छ । फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनौट प्रतियोगितातर्फ घरमै हुने तीन घरेलु म्याचका लागि नेपाली फुटबल टोली जोडतोडका साथ लाग्ने योजनामा छ ।

गत महिना बंगलादेश विरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच खेलेर फर्किएको नेपाली फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन साताका लागि बिश्राम दिने निर्णय गरेको थियो । स्मरणीय छ, बंगलादेश भ्रमणका क्रममा नेपालले पहिलो खेलमा २–० को हार बेहोरेको थियो भने दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो ।

हालै स्वीडीस प्रशिक्षक योहान कालिनले राजिनामा दिएपछि टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन् । महर्जनलाई सहायक प्रशिक्षक किरन श्रेष्ठ र गोलकिपर प्रशिक्षक बिकास मल्ले सघाईरहेका छन् । नेपालले विश्वकप र एसियन कप छनौट खेल्नु अघि केही मैत्रीपूर्ण फुटबल म्याच खेल्ने सम्भावना पनि छ ।

नेपालको खेलतालिका

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप छनौट २०२३ का लागि एसियाली फुटबल महासंघले नयाँ खेलतालिका सार्वजनिक गरिएको छ । छनौट प्रतियोगितातर्फ समूह बी मा रहेको नेपालले अष्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनसँग घरमै खेल्न बाँकी छ ।

नेपालले आगामी बर्ष (२०२१)को २५ मार्चका दिन चाइनिज ताइपेईसँग खेल्नेछ भने ३० मार्चका दिन बलियो अष्ट्रेलियाको सामना गर्नेछ । त्यस्तै समूह चरणको अन्तिम खेल जुन ७ तारीखका दिन नेपालले जोर्डनसँग खेल्नेछ । नेपाललाई अबको मुख्य चुनौति अष्ट्रेलिया र जोर्डन कै खेल हुनेछ । यद्यपि चाइनिज ताइपेई पनि नेपालका लागि कठिन प्रतिद्वन्द्वी बन्ने निश्चित भने छ ।

आफ्नो समूहमा ५ खेलबाट ३ अंक जोडेको नेपाल समूहको चौथो स्थानमा छ । स्मरण रहोस, नेपालले गत बर्षको सेप्टेम्बरमा ताइपेईमत भएको अवे खेलमा चाइनिज ताईपेईलाई २–० ले हराएको थियो । सो खेलमा नेपालका लागि दुवै गोल अन्जन बिष्टले गरेका थिए ।

Post Comments