News पथरी प्रिमियर लिगमा समूह चरणको अन्तिम खेल आज
गोपाल काफ्ले

पथरी । टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगतर्फ आज लिग चरणको अन्तिम खेलका रुपमा टेन नवोदय एफसी र द रियल ब्रदर्श एफसी भिड्दै छन् । समूह बी तर्फ रहेका यी दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेकाले आजको खेलले समूह बी विजेता र उपविजेताको छिनोफानो गर्नेछ ।

समूह बी मा अपराजित रहेको टेन नवोदयको २ खेलबाट ६ अंक छ भने रियल ब्रदर्शको ४ अंक रहेको छ । त्यस्तै देवीगंजको तीन अंक छ भने पुछारको टोली वाई.जि.एफ.टी. को एक अंक रहेको छ । स्मरण रहोस, आइतबार मात्र देवीगंजले वाई.जि.एफ.टी.लाई ३–२ ले हराउँदै लिगमा पहिलो र सान्त्वना जित हात पारेको थियो ।

पथरी रंगशालामा हुने आजको खेलमा रियल ब्रदर्श दोस्रो जित निकाल्ने योजनामा हुनेछ भने टेन नवोदय आफ्नो अपराजित यात्रालाई लिगको अन्तिम खेलसम्म निरन्तरता दिने उद्देश्यका साथ मैदानमा उत्रिनेछ । यद्यपि यी दुवै टोलीको समूह विजेता बन्ने सम्भावना भने कायम छ ।

स्थानीय स्तरमै पहिलोपटक अक्सनमार्फत खेलाडी खरिद गरि आयोजना गरिएको लिगको विजेतो उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो पौष ११ गतेका दिन हुनेछ ।

Post Comments