News आयोजक फर्साटिकर सेमिफाइनलमा
सुरज राना मगर

फर्साटिकर । आयोजक फर्साटिकर युवा क्लब, फर्साटिकर जारी शुद्धोधन गाउँपालिका १२औं फर्साटिकर कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको तेस्रो क्वाटरफाइनलतर्फ फर्साटिकरले देवदह ब्वाईज, देवदहलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । फर्साटिकरका लागि आशिष राना र अभि लामाले गोल गरे । पराजित देवदहका लागि भने सुरज चौधरीले गोल गरेका थिए ।

खेलमा फर्साटिकरका अभि लामा म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत पुस २७ गते शनिबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल इन्टर नर्थ इष्ट एफसी, आसाम, भारत र गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल बीच हुने खेल संयोजक अकरम अलीले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार ५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराईले जानकारी दिए । फाइनल खेल माघ २ गतेका दिन हुनेछ ।

 

Post Comments