News धरान स्थित एन्फा एकेडेमीमा फर्किए प्रशिक्षार्थी
गोलनेपाल

धरान । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा सञ्चालित प्रदेश नम्बर १ को व्यस्त शहर धरान स्थित एन्फा एकेडेमीमा बाल खेलाडीहरु फेरि फर्किएका छन् ।

विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण खेलकुद गतिविधी नेपालमा पनि ठप्प भएको थियो । त्यसक्रममा एन्फाको मातहतमा रहेको एकेडेमीहरुलाई अस्थायी कोरोना अस्पतालका रुपमा प्रयोग गर्न समेत दिइएको थियो ।

धरान स्थित एन्फा एकेडेमीमा पनि अस्थायी कोरोना अस्पताल स्थापना भएको थियो । तर अहिले त्यो हटाइसकेको एकेडेमीका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले बताए । श्रेष्ठका अनुसार अब केही दिनमा प्रशिक्षार्थीहरुको प्रशिक्षण पनि शुरु हुने जानकारी उनले दिए ।

श्रेष्ठ भन्छन्, "बुधबारदेखि प्रशिक्षर्थीहरुलाई नियमित प्रशिक्षण दिने तयारीमा छौं । एकेडेमीमा आइपुगेका पाँच खेलाडीहरु बाहेक अन्य सबै खेलाडीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बाँकी पाँच खेलाडीको रिपोर्ट मंगलबार आउँदैछ । त्यसलगतै प्रशिक्षण र एकेडेमी सञ्चालन सुचारु हुनेछ ।"

दश महिना लामो घर बसाई पश्चात एकेडेमीका फर्किएका प्रशिक्षार्थीहरुबारे अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायत अन्य पदाधिकारीहरुले जानकारी लिएका थिए ।

सो अवसरमा उपाध्यक्ष नेम्वाङले एकेडेमी फर्किएका प्रशिक्षार्थीहरुलाई नियमित अभ्याससँगै अध्ययनमा पनि अनुशासित भएर लाग्न सुझाव दिंदै शुभकामना व्यक्त गरेका थिए ।

 

Post Comments