News अभिषेक चर्च फाइनलमा, उपाधिका लागि आयोजक फर्साटिकरसँग भिड्ने
सुरज राना मगर

फर्साटिकर । अभिषेक चर्च फुटबल क्लब, रजहर, नवलपुर जारी शुद्धोधन गाउँपालिका १२औं फर्साटिकर कपको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो सेमिफाइनलमा अभिषेक चर्चले गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवललाई ३–२ ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो ।

फर्साटिकर खेलमैदानमा भएको रोमाञ्चक खेलमा अभिषेक चर्चका लागि सुमित श्रेष्ठले दुई गोल गरे भने थप एक गोल एरोन थापाले गरे । उता पराजित गोर्खा ब्वाईजका लागि दुवै गोल सिर्जनराज गौतमले गरेका थिए । खेलमा अभिषेक चर्चका सुमित श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

अभिषेक चर्चले अब माघ २ गतेका दिन हुने फाइनलमा आयोजक फर्साटिकर युवा क्लब, फर्साटिकरसँग उपाधिका लागि भिड्नेछ । स्मरण रहोस, फर्साटिकरले पहिलो सेमिफाइनलमा भैरव एफसी, नवलपरासीलाई हराउँदै यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।

फर्साटिकर युवा क्लब, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार ५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराईले जानकारी दिए ।

Post Comments