News पथरी प्रिमियर लिगः उपाधिक लागि रियल ब्रदर्श र टेन नवोदय भिड्ने
गोपाल काफ्ले

पथरी । टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगको फाइनलमा द रियल ब्रदर्श एफसी र टेन नवोदय एफसी भिड्ने भएका छन् । बिहीबार भएको दोस्रो सेमिफाइनलमा रियल ब्रदर्शले कठिन जितका साथ फाइनलमा टेन नवोदयसँगको भेट पक्का गरेको हो ।

पथरी रंगशालामा भएको प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनलमा रियल ब्रदर्शले हेरिका न्यु स्टार एफसीलाई पेनाल्टी शुटआउटमा ४–३ ले हरायो । यसअघि खेलाइएको निर्धारित ८० मिनटको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । पेनाल्टीमा रियल ब्रदर्शले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलको म्यान अफ द म्याच रियल ब्रदर्शका देवराज गुरुङ घोषित भए । फाइनल खेल अब आउँदो पुष ११ गते शनिबारका दिन रियल ब्रदर्श र टेन नवोदय एफसीबीच हुनेछ ।

स्थानीयस्तर मै पहिलोपटक अक्सनमार्फत खेलाडीहरु खरिद गरि आयोजना गरिएको लिगको विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले दश हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Post Comments