
बसाहा । यहाँ सम्पन्न १०औं नारदमुनी थुलुङ स्मृति गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सलहेश युवा क्लब, सिराहाले जितेको छ । फाइनलमा सलहेशले झापा–११ फुटबल क्लब, झापालाई २–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।
विजेता बनेको सलहेशले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता झापाले २ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विधागततर्फ सलहेशका बिशाल सुनार उत्कृष्ट गोलरक्षक बन्दा उत्कृष्ट डिफेन्डरको पुरस्कार झापाका सुमन मगरले हात पारे । उत्कृष्ट मिडफिल्डर पनि झापा कै निकेश श्रेष्ठ चुनिदा सर्वाधिक गोलकर्ताको पुरस्कार मिलन राईले हात पारे । उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार प्राप्त गरे ।
त्यस्तै राईजिङ प्लेयर बसाहा क्लबका रितेश तामाङ बने । उनले पनि नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने सलहेशका अमन लामा घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।
बसाहा क्लब, उदयपुरको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा काठमाडौं, उदयपुर, सर्लाही, सप्तरी, झापा, मोरङ र सिराहाका गरी कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।