
बागधुरा । साविक विजेता फर्साटिकर युवा क्लब, फर्साटिकरले लगातार दोस्रोपटक सातौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
आइतबार सम्पन्न फाइनलमा फर्साटिकरले न्यु सृजना युवा क्लब, करौजियामाथि २–० को जित निकाल्दै उपाधि रक्षासँगै लगातार दोस्रोपटक उपाधि जित्न सफल भएको हो ।
फर्साटिकरको जितमा टिकाराज गुरुङ्ग र आशिष रानाले गोल गरे । खेलमा न्यु सृजनाले पनि गोलको अवसर पाएको थियो । प्राप्त पेनाल्टीलाई न्यु सृजनाका कप्तान रिजन रानाले गोलमा परिणत गर्न सकेनन् । खेल अवधिभर दुवैतर्फबाट केही गोलका राम्रो अवसर सिृजना भए तापनि थप गोल भने हुन सकेन ।
विजेता बनेको फर्साटिकरले उपाधिसहित नगद १,२२,२२२ रुपैयाँ हात पार्यो भने उपविजेताले न्यु सृजनाले ६१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । फर्साटिकरका टिकाराज गुरुङ्ग फाइनल खेलको म्यान अफ दि म्याच बने ।
त्यस्तै अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक फर्साटिकरका कप्तान तथा गोलरक्षक शुभांकर जिसी बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार न्यु सृजनाका हिमाल थापा मगरले प्राप्त गरे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने फर्साटिकरका आशिष राना घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँड, आयोजक सञ्जिवनी युवा क्लबका अध्यक्ष अर्जुन केसी (हापु), उपाध्यक्ष खिम थापा, तिलोत्तमा–१४ का वार्ड अध्यक्ष अस्विन पौडेल, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन लगायतले पुरस्कृत गरेका थिए ।