News बाणगंगासँग स्तब्ध बन्यो झरना
सुरज राना मगर

बुटवल । प्रतियोगिताको बलियो प्रत्याशी मानिएको झरना स्पोर्टस क्लब जारी शुद्धोदन गाउँपालिका आठौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगितामा बुधबार स्तब्धपुर्ण रुपमा पराजित भएको छ ।

शुद्धोदन–४ बर्मेलीटोल स्थित फर्साटिकर माविको खेलमैदानमा भएको प्रिक्वाटरफाइनल खेलतर्फ झरनाले बाणगंगा वेलफेयर सोसाईटी, कपिलवस्तुसँग पेनाल्टी शुटआउटमा ४–३ ले पराजित हुन पुग्यो ।

यसअघि खेलाइएको निर्धारित ४०–४० मिनटको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको दशौं मिनटमै कप्तान रोशन सेनको गोलबाट बाणगंगाले खेलमा अग्रता बनाएको थियो ।

यद्यपि पहिलो हाफ कै ३३औं मिनटमा कृष्ण क्षेत्रीले झरनाका लागि बराबरी गोल फर्काउन सफल भएका थिए । त्यसपछिको अधिकांश समय दुवै टोलीले गोलका लागि प्रयास गरे तापनि सफल भएनन् ।

पेनाल्टी शुटआउटमा भने झरनाका दुई खेलाडीले बललाई गोलपोष्टको जाली चुमाउन नसक्दा कुञ्जलापुरको टोली निराश बन्न पुग्यो । यो जितसँगै बाणगंगा क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । बुधबारको खेलको म्यान अफ द म्याच बाणगंगाका सुर्य थापा घोषित भए ।

प्रतियोगिता अन्तरगत पुष १६ गते बिहीबारको खेल विश्व शान्ति युवा क्लब, सालझण्डी र फर्साटिकर एकेडेमीबीच हुने खेल संयोजक टेकु भण्डारीले जानकारी दिए ।

फर्साटिकर युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने आउँदो पुष २५ गतेका दिन हुनेछ ।

Post Comments