
बुटवल । सियारी गाउँपालिका यहाँ जारी लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
प्रतियोगिताको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा सियारीले द एक्स लिजेण्डलाई ४–३ ले हराउँदै अन्तिम चारमा स्थान बनाउने अन्तिम टोली बनेको हो ।
सियारीको जितमा बलराम न्यौपानेले दुई गोल गर्दा संगम सोमरे र सुवास नेपालीले समान १–१ गोल गरे । उता एक्स लिजेण्डका लागि रञ्जित थापाले दुई गोल गर्दा धिरज थापाले एक गोल फर्काए ।
खेलमा सियारीका लागि महत्वपूर्ण दुई गोल गरेका बलराम न्यौपाने म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन ४ गते आइतबारको पहिलो सेमिफाइनल खेल आयोजक लखन ब्रदर्श युथ क्लब, बुटवल र समपुर्ण युवा क्लब, सुपौलीबीच हुने खेल संयोजक राम थापाले जानकारी दिए ।
लखन ब्रदर्श युथ क्लब, बुटवल–८, सुख्खानगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,५१५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,७५७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक राम थापाले बताए । फाइनल खेल फागुन ७ गतेका दिन हुनेछ ।