News नेपाल र म्यानमारको रोमाञ्चक बराबरी
गोलनेपाल

काठमाडौं । चारदेशीय महिला च्याम्पियनसिपतर्फ लिगचरणको आफ्नो अन्तिम खेलमा नेपाल र म्यानमारले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन् ।

आइतबार दशरथ रंगशालामा भएको खेलमा शुरुवाती अग्रता म्यानमारले लिएको थियो । खेलको छैठौं मिनट मै म्याट नोइ खिनको गोलबाट पाहुना टोलीले खेलमा अग्रता बनायो । तर ११औं मिनटमा साबित्रा भण्डारीले नेपालका लागि बराबरी गोल फर्काइन् ।

यद्यपि लगतै खेलको १७औं मिनटमा मे टेट लुले म्यानमारलाई दोस्रोपटक खेलमा अग्रता दिलाईन । तर पनि नेपालले खेलमा रोमाञ्चक बराबरी गोल फर्कायो । दोस्रोपटक पनि साबित्राले नै गोल गरिन् । उनले ४१औं मिनटमा दोस्रो गोल गर्दै खेललाई फेरि रोमाञ्चक बराबरीमा ल्याएकी थिईन् ।

खेल अवधिभर दुवै टोलीले गोलको प्रयास जारी राखे तापनि थप गोल गर्न सफल भएनन् । यो नतिजापछि समान ३–३ खेलबाट ७–७ अंक जोडे तापनि म्यानमार शिर्ष स्थानमा रहेर समूह विजेता बन्दा नेपाल दोस्रो स्थानमा रहेर उपविजेता बन्यो । म्यानमार र नेपाल दुवै यसअघि नै फाइनलमा प्रवेश गरिसकेका छन् ।

त्यस्तै आइतबार नै भएको पहिलो खेलमा लेबनानलाई किर्गिस्तानलाई २–० ले हराउँदै प्रतियोगितामा सुखद समापन गर्यो । यो जितपछि ३ अंक जोडेको लेबनान तेस्रो स्थानमा रहँदा अंकविहीन किर्गिस्तान पुछारमा रह्यो । अब बुधबार हु्ने फाइनलमा नेपाल र म्यानमार उपाधिका लागि भिड्ने छन् ।

Post Comments