News राष्ट्रिय फुटबल टोली पोखरा जाने
गोलनेपाल

काठमाडौं । नेपालको राष्ट्रिय पुरुष फुटबल टोलीले आफ्नो आगामी खेलहरुको तयारीका लागि पोखरामा प्रशिक्षण र अभ्यास गर्ने भएको छ । त्यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को एक टोलीले पोखराको विभिन्न खेलस्थलहरुको स्थलगत निरीक्षण समेत गरेको छ ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि पोखरा स्टेडियमलाई पहिलो प्राथमिकतामा राखिएको एन्फाले जनाएको छ । त्यस्तै दोबिल्ला स्थित सहारा फुटबल एकेडेमीको मैदान पनि एन्फाको नजरमा प्राथमिकता मै परेको छ । साथै एन्फाको निरीक्षण टोलीले पोखरा स्थित अन्य सम्भावित खेलमैदानहरुको पनि निरीक्षण गरेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए ।

महासचिव तुलाधरका अनुसार काठमाडौं स्थित दशरथ रंगशाला विश्वकप र एसियन कप छनौट कै लागि भनेर थप मर्मत सम्भार गर्नुपर्ने भएकोले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा गराउने लागिएको बताए । यद्यपि उनले छनौट प्रतियोगिताहरु पोखरामा नभई काठमाडौं मै हुने स्पष्ट पारे ।

चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसँग खेल्दैछ नेपाल

फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनौट खेलतर्फ नेपालले घरेलु मैदान मै चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसँग खेल्दैछ । एएफसीले निकालेको नयाँ खेलतालिका अनुसार नेपालले ताईपेइसँग २५ मार्चका दिन खेल्नेछ भने ३० मार्चका दिन अष्ट्रेलियासँग खेल्नेछ । त्यस्तै ७ जुनका दिन जोर्डनसँग खेल्ने तय भएको छ ।

Post Comments