
मुर्गिया । कपिलवस्तु–११ फुटबल क्लब, कपिलवस्तु जारी सुनगाभा सैनामैना गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको दोस्रो सेमिफाइनलतर्फ महाबिर क्लब, काठमाडौंमाथि टाईब्रेकरमा संघर्षपुर्ण जित निकाल्दै कपिलवस्तु उपाधि नजिक पुगेको हो । सैनामैना–४ मुर्गिया स्थित सैनामैना रंगशालामा निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा कपिलवस्तुले महाबिरमाथि ५–४ को जित निकाल्दै फाइनल स्थान पक्का गर्यो ।
खेलमा कपिलवस्तुका रक्षक निम मिधुन प्लेयर अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । कपिलवस्तुले अब फागुन २८ गते बुधबार हुने फाइनलमा अभिषेक चर्च एफसी, नवलपुरसँग उपाधिका लागि भिड्नेछ ।
मुर्गिया फुटबल क्लब, सैनामैना–४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।
त्यस्तै सुनगाभा पब्लिक स्कुल, सैनामैना मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि ४०–४० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष प्रबिन भारीले बताए ।