
ताप्लेजुङ्ग जिल्लाको आठराई त्रिवेणी गाउँपालिका - ५ चागेमा माछापोखरी हिटी क्लबको आयोजनामा जारी दोस्रो आमन्त्रित माछापोखरीमा हिटी गोल्ड कपको सेमीफाइनल समीकरण पूरा भएको छ।
आज सम्पन्न अन्तिम दुई क्वाटरफाईनल खेलमा सम्दु एफ सी तेह्रथुम र न्यू स्टार क्लब झापाले जीत निकालेका हुन। आजको पहिलो खेल सम्दु एफ सी तेह्रथुमले वाईवाई पाँचथरलाई पेनाल्टीमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ। पाँचथरले सुरुवाती समयमा अग्रता बनाएपनि तेह्रथुमका लागि सरोज लिम्बूले गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काएका थिए। निर्धारित समय १/१ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा पुगेको हो। पेनाल्टीमा सम्दुका गोलरक्षक विपिन लिम्बूले पाँचथरको लगातार ३ पेनाल्टी रोक्दै नायक बनेपछि टोली सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएको छ।
पाँचथरका गोल रक्षकले २ पेनाल्टी रोके पनि आफ्नो टोलीको हार जोगाउन भने सकेनन् । उक्त खेलको म्यान अफ दि म्याच सम्दुका गोलरक्षक विपिन बन्दै नगद ३००० रुपैयाँ प्राप्त गरे। आजनै सम्पन्न अन्तिम क्वाटरफाईनल खेलमा न्यू स्टार क्लब झापा शानदार जितको साथमा सेमीफाइनल प्रवेश गरेको छ।
डाँडा बजार धनकुटालाई शून्यका विरुद्ध तीन गोलले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हाे। झापाको लागि खेलको १६ मिनेटमा निश्चल बस्नेतले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको दोश्रो हाफको ६२ औं मिनेटमा फैजलको गोलमा अग्रता दोब्बर गरको थियो।खेलको ७१ औं मिनेटमा झापाको लागि निश्चल बस्नेतले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई तेब्बर गराएका थिए । त्यसपश्चात् दुबै टोलीबाट गोल हुन नसक्दा खेलमा एकपक्षिय जितको साथमा झापा सेमीफाइनल प्रवेश गरेको छ। झापाको लागि दुई गोल गरेका निश्चल बस्नेत उक्त खेलको नायक बन्दै ३००० प्राप्त गरे।
भोलि हुने दुई सेमीफाइनल खेल क्रमश सम्दु एफ सी तेह्रथुम र मरिक एफ सी धरान दिनको ठीक १२ बजे भिड्नेछन् भने दोस्रो सेमिफाइनलमा लालीमा क्लब ताप्लेजुङ र न्यू स्टार क्लब झापा दिनको ठीक २ बजे आमनेसामने हुनेछन्। प्रतियोगिताको विजेता हुने टिमले नगद ३ लाख र उपविजेता हुने टिमले नगद १ लाख ६० हजार प्राप्त गर्नेछन्।