News लिस्नु पाँचौं न्यु राईज कपको सेमिफाइनलमा
सुरज राना मगर

बभनी । लिस्नु युवा क्लब, कोटिहवा रुपन्देहीमा जारी स्व. भिम बहादुर खड्का स्मृति पाँचौं न्यु राईज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

मंगलबार सम्पन्न चौथो क्वाटरफाइनलतर्फ लिस्नुले इलिट एकेडेमी, तिलोत्तमालाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ इलिटका लागि कप्तान कमल भट्टराईले गोल गरेका थिए भने लिस्नुका लागि मिसन गुरुङ्गले गोल फर्काएका थिए । टाईब्रेकरमा भने लिस्नुले इलिटमाथि ४–२ को जित निकाल्दै सेमिफाइनल प्रवेश गर्न सफल भयो ।

खेलमा म्यान अफ दि म्याच भने लिस्नुका गोलरक्षक सन्देश गुरुङ्ग घोषित भए । प्रतियोगिता अन्तर्गत चैत्र ६ गते बुधबारको पहिलो सेमिफाइनल खेल नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल र बिग बुद्ध एफसी, सुनवलबीच हुनेछ ।

न्यु राईज युथ क्लब, तिलोत्तमा–१३, बभनी, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४५ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने चैत ९ गतेका दिन हुनेछ ।

 

Post Comments