Province 1 आयोजक टु स्टार १५ औँ बराहक्षेत्र कार्तिके पुर्णिमा मेलाको सेमिफाइनलमा
गोलनेपाल

म्बुङ पाँचथर। श्री टु-स्टार ग्रामीण सृजनशील क्लबको आयोजनामा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं-२ ईम्बुङमा जारी ऐतिहासिक बराह क्षेत्र (कार्तिके पूर्णिमा)मेला १५ औँ संस्करणको खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता अन्तर्गत मङ्गलबार विभिन्न चरणका तीन रोमान्चक खेलहरू सम्पन्न भएका छन्।

मङ्गलबार सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा चोकमागु एफसीलाई ३-१ गोल अन्तरले पराजित गरी आयोजक टु स्टार ग्रामीण सृजनशील फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको हो। आयोजकको जितमा दिल सम्बाहाम्फेले दुई गोल गर्दा सुदर्शन लिम्बुले एक गोल थप गरे। उता पराजित भएको चोकमागुको लागि रवि लिम्बुले एक गोल फर्काएका थिए । दुई गोल गर्दै आफ्नो टोलीलाई सेमिफाइनलको यात्रा तय गराउन सफल दिल सम्बाहाम्फे खेलको प्लेयर अफ द म्याच घोषित भएका हुन्।

त्यस्तै प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा तिजोग फुटबल क्लब नवमीडाँडालाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै राँके फुटबल क्लब अन्तिम चारमा प्रवेश गरेको हो। निर्धारित समय दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए। पेनाल्टी सुटआउटमा ५ - ४ को नतिजामा राँके एफसीले जित हासिल गर्न सफल भयो। उक्त खेलमा निर्णायक पेनाल्टी बचाउ गरेका राँकेका गोलरक्षक मिराक खजुम प्लेयर अफ द म्याच घोषित भएका छन्।

त्यस्तैगरी खुल्ला महिला फुटबलतर्फ सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा सिलौटी फुटबल क्लब पाँचथरलाई पेनाल्टी सुटआउटमा पराजित गरी घरेलु टोली टु स्टार एफसी उपाधि नजिक पुगेको छ। निर्धारित समय दुवै टोलीले कुनै पनि गोल गर्न नसक्दा खेलको अन्तिम निर्णय पेनाल्टी सुटआउटबाट निकालिएको थियो। पेनाल्टी सुटआउटमा आयोजककि गोलरक्षक लाजिमा नेम्बाङले उत्कृष्ट दुई प्रहारहरू रोक्दै खेलको प्लेयर अफ द म्याच घोषित भइन्। समग्रमा आयोजकले पेनाल्टी सुटआउटमा ४-३ को नतिजामा जित हासिल गर्यो।

मङ्सिर १० गते खुल्ला पुरुष फुटबलतर्फ पहिलो सेमीफाइनलमा आनि साक्थिम फुटबल क्लब पाँचथर र आयोजक टु स्टार ग्रामीण सिर्जनशील क्लब दिनको ठिक १२ बजे प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै दोस्रो सेमिफाइनलमा ब्राइट स्टार क्लब पाँचथर र राँके फुटबल क्लब पाँचथर दिनको ठिक १:४५ बजे प्रतिस्पर्धा गर्नेछन्।

खुल्ला महिला फुटबलतर्फ दोस्रो सेमीफाइनलमा चिलिङदिन तोकिएको समयमा मैदानमा उपस्थित हुन नसक्दा फेमेसुवा वाकओभर मार्फत सिधै फाइनलमा प्रवेश गरेको हो।

खुल्ला महिला फुटबल तर्फको उपाधिका लागि मङ्सिर १० गते दिनको ठिक ३ बजे आयोजक टु स्टार एफसी महिला टोली र फेमेसुवा महिला टोली बीच प्रतिस्पर्धा हुनेछ।

स्वर्गीय श्री कुबेर सिंह नेम्बाङको स्मृतिमा उहाँको सपरिवारबाट प्रतियोगिताको पुरुषतर्फ प्रथम पुरस्कार हाल युकेबाट प्रायोजन भएको हो।

खुल्ला पुरुष फुटबलतर्फ पाँचथर सहित विभिन्न जिल्लाका १० टोलीहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेता हुने टोलीले नगद रु.१ लाख २० हजार ८३ रुपैयाँ सहित आकर्षकट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने,उपविजेता हुने टोलीले नगद रु.७५ हजार ८३ रुपैयाँ प्राप्त गर्नेछन्।

Post Comments