Province 1 आयोजकलाई निराश पार्दै हाम्रो धरान फाइनलमा
गोलनेपाल

दुहबी । संघर्षपुर्ण जितका साथ हाम्रो धरान भेट्रान, सुनसरी जारी प्रथम दुहबी भेट्रान कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक दुहबी भेट्रान एफसी (रातो) लाई सडन डेथमा ६–५ ले हराउँदै हाम्रो धरान उपाधि नजिक पुगेको हो । त्यसअघि श्री सरस्वती उमाविको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा हाम्रो धरानका गोलरक्षक देवकान्त सिंह म्यान अफ द म्याच घोषित भए । उनलाई प्रमुख अतिथी इलाका प्रहरी कार्यालय, दुहबीका प्रहरी निरिक्षक घनेन्द्र हाङ खजुमले नगदसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत मंसिर २ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल भरौल भेट्रान क्लब र जनता भेट्रान क्लब बीच हुने आयोजकले जानकारी दिएको छ ।

दुहबी भेट्रान फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने मंसिर ४ गतेका दिन हुनेछ ।

Post Comments