Province 1 हाम्रो धरान भेट्रानलाई उपाधि
गोलनेपाल

दुहबी । प्रथम दुहबी भेट्रान कप नकआउट फुटबल प्रतियोगिताको उपाधि हाम्रो धरान भेट्रान क्लब, सुनसरीले जितेको छ । फाइनलमा भरौल भेट्रान क्लबलाई २–१ ले हराउँदै हाम्रो भेट्रान च्याम्पियन बनेको हो ।

दुहबी ५ स्थित श्री सरस्वती उमाविको खेलमैदानमा भएको फाइनल भिडन्तमा हाम्रो धरानका लागि ४४औं मिनटमा जनकराज सुनुवारले पहिलो गोल गरेका थिए । ५७औं मिनटमा डेनिम राईले भरौलका लागि बराबरी गोल फर्काउन सफल भए ।

तर भरौलले त्यो बराबरी गोलको खुशी धेरैबेर मनाउन सकेन । गोल खाए लगतै ६०औं मिनटमा जोनी मोक्तानले हाम्रो धरानका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।

विजेता बनेको हाम्रो धरानले उपाधिसहित नगद ५१ हजार हात पार्यो भने उपविजेता भरौलले ३१ हजारमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ द म्याच हाम्रो धरानका जनकराज सुनुवार घोषित भए । त्यसवापत उनले नगद १ हजार र ट्रफी हात पारे ।

खगेन्द्र सर्वोत्कृष्ट खेलाडी

हाम्रो धरानका खगेन्द्र लिम्बुले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । त्यसवापत उनले नगद २५ सय सहित ट्रफी हात पारे । त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक हाम्रो धरान कै देबकान्त सिंह घोषित भए ।

उत्कृष्ट डिफेन्डर भरौल भेट्रानका बिनय चौधरी बने भने उत्कृष्ट मिडफिल्डर हाम्रो धरान कै राकेश राई घोषित भए । उत्कृष्ट प्रशिक्षक पनि हाम्रो धरानका बिकास गुरुङ चुनिए । प्रतियोगिता भरि ४ गोल गरेका भरौलका तिर्थ याक्सोले सर्वाधिक गोलककर्ताको पुरस्कार जिते ।

सर्वाधिक गोलकर्ता बनेका याक्सोले ट्रफीसहित २ हजार हात पारे भने अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेकाहरुले जनही १५–१५ सय प्राप्त गरे । विजयी खेलाडीहरुलाई दुहबी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदार लगायत अन्य अतिथीहरुले पुरस्कृत गरे ।

दुहबी भेट्रान फुटबल क्लब, सुनसरीको आयोजनामा भएको प्रतियोगितामा कुल दश टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments