Province 1 टेम्के र राष्ट्रिय जागृतिलाई सफलता
गोलनेपाल

इटहरी । यहाँ जारी सुनसरी जिल्ला लिग फुटबल प्रतियोगितामा शुक्रबार टेम्के फुटबल क्लब र राष्ट्रिय जागृति क्लबले आ–आफ्नो खेलमा जित निकालेका छन् ।

इटहरी क्षेत्रीय रंगशालामा भएको पहिलो खेलमा टेम्के फुटबल क्लबले इटहरी फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हरायो । टेम्केका लागि ३१औं मिनटमा एलम्बर राईले एक मात्र निर्णायक गोल गरे ।

खेलको म्यान अफ द म्याच भने टेम्केका गोलरक्षक जसन श्रेष्ठ चुनिए । उनलाई प्रमुख अतिथी राष्ट्रिय जागृति क्लबका अध्यक्ष बासु श्रेष्ठले नगद १५ सय सहित पुरस्कृत गरे ।

त्यस्तै दोस्रो खेलमा राष्ट्रिय जागृति क्लबले धरान फुटबल क्लबलाई १–० ले हरायो । राष्ट्रिय जागृतिका लागि १७औं मिनटमा अभिषेक विश्वकर्माले एक मात्र निर्णायक गोल गरे ।

निर्णायक गोलकर्ता विश्वकर्मा नै खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनलाई प्रमुख अतिथी एन्फाका केन्द्रिय सदस्य दिपक राईले नगद १५ सय सहित पुरस्कृत गरे ।

सुनसरी जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा कुल आठ टोलीहरु सहभागि छन् । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । लिग कम नकआउटका आधारमा चल्ने प्रतियोगिताको प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को संयोजन तथा नेपाल आइस बियरको प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल पौष २५ गतेका दिन हुनेछ ।

Post Comments