Province 1 शनिश्चरे एफसीलाई माई गाेल्डकपकाे उपाधि
रमेश समदर्शी

इलाम । इलामकाे माई नगरपालिकामा सितलु एफसी र चियाबारी एफसीद्वारा संयुक्तरूपमा आयोजित प्रथम माई गोल्डकप फुटबल प्रतियोगिताको उपाधि अर्जुनधाराको शनिश्चरे एफसीले जितेको छ ।

सोमबार सितलु खेलमैदानमा सम्पन्न फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अर्जुनधाराकै खुदुनाबारी एफसीलाई सडनडेथमा पराजित गर्दै शनिश्चरेले उपाधि रक्षा गरेको हो ।

सडनडेथमा १३-१२ गोलअन्तरमा शनिश्चरे विजयी बन्यो । निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि समान ४-४ गोल भएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । खेलको पहिलो हाफ सकिन केही सेकेण्ड बाँकी रहँदा खुदुनाबारीका लागि मिलन गुरुङले गोल गर्दै अग्रता दिलाएका थिए ।

प्रतिस्पर्धात्मक खेलमा शनिश्चरे दोस्रो हाफको अन्त्यतिर फर्किएको थियो । दोस्रो हाफको २५औँ मिनेटमा शनिश्चरेका सौरभ लिम्बूले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।  

प्रतियोगिताको उत्कृष्ट खेलाडी शनिश्चरेका देवेन्द्र तामाङ घोषित भए । यस्तै, उत्कृष्ट गोलरक्षक शनिश्चरेका सञ्जीप लिम्बू भए भने म्यान अफ दी म्याच र उत्कृष्ट मिडफिल्डर खुदुनाबारीका विक्रम तामाङ र उत्कृष्ट रक्षक अजिश खड्का घोषित भए । उनीहरुले जनही नगद २ हजार ५ सय र ट्रफी पाए ।

सितलु एफसीका अध्यक्ष मणिन्द्र राईको अध्यक्षतामा भएको फाइनल खेलको विजेता शनिश्चरे एफसीले नगद ५० हजार र ट्रफी पाउँदा उपविजेता खुदुनाबारी एफसीले नगद २५ हजारमा चित्त बुझाएको छ ।

कार्यक्रममा नगर उपप्रमुख हिमादेवी भण्डारी, वडाध्यक्षहरु राम राई, उर्दबहादुर राई, खडग सुन्दर योङहाङ, बुद्धि खनाल, सूर्योदय नगरपालिका १० का वडाध्यक्ष पेमा उगेन लामा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोला, जिल्ला फुटबल संघका उपाध्यक्ष डिडेन देवान, सुरक्षा निकायका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख एवम प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन सचिव विशाल खड्काले गरेका थिए ।

Post Comments