Province 1 आठराई र निघुरादिन गजेन्द्र स्मृति कपको फाइनलमा
रमेश समदर्शी

खाम्लालुङ (तेह्रथुम) । यहाँ जारी गजेन्द्र इस्वो स्मृति रनिङ कप फुटबल प्रतियोगितामा आज सम्पन्न सेमिफाइनल खेलबाट तेह्रथुम र ताप्लेजुङको टोली फाइनलमा प्रवेश गरेका छन् ।

आठराई गाउँपालिका २ खाम्लालुङस्थित कालिका आधारभूत विद्यालयको मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा म्याङलुङ स्पोर्टिङलाई टाइब्रेकरमा पराजित गर्दै आठराई गाउँपालिकाको ए टिम फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।

टाइब्रेकरमा आठराईले ४-३ गोलअन्तरमा म्याङलुङलाई पराजित गरेको हो । आठराईका लागि प्रदिप फोम्बो, उमेश कन्दङवा, युगल चोङवाङ र निरोज लिङदेनको प्रहार गोलमा परिणत भएको थियो भने ताङसाङ इङनामको प्रहार म्याङलुङका गोलरक्षक प्रमिजयले रोकेका थिए ।

यस्तै, म्याङलुङका अजय चौधरी, विदुर लिम्बु र सन्तोषा खजुमको प्रहारमात्र गोल भयो भने विशाल काफ्ले र असिम लिम्बूको प्रहार बाहिरिएको थियो ।

आज नै भएको अन्तिम सेमिफाइनल खेलबाट आठराई त्रिवेणीको निघुरादिन स्पोर्टस क्लब विजयीहुँदै फाइनलमा प्रवेश गरेको छ । स्पर्धी विराटनगरको डाइमण्ड एफसीलाई ३-२ गोलले पराजित गर्दै निघुरादिन उपाधि नजिक पुगेको हो ।

निघुरादिनका सुमन योङ्याले २ गोल गरे भने अनुप सेन्दाङले १ गोल गरे । विराटनगरका लागि नितेश लिम्बू र राजु मगरले मात्र गोल गरेका थिए । यसअघि भएको अन्तिम क्वाटरफाइनल खेलमा विराटनगरले मुनाल युथ क्लब फेदाप जलजलेलाई २-१ गोलले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको फाइनल खेल भोलि सोमबार हुनेछ । आठराई गाउँपालिका र २ नम्बर वडा कार्यालयको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाख पाउने छ ।

यस्तै, महिलातर्फ फाइनल खेल पनि भोलि नै हुनेछ । यस प्रतियोगिताको विजेताले नगद ६० हजार पाउँदा उपविजेताले नगद ४० हजारमा चित्त बुझाउनु पर्नेछ ।

Post Comments