Province 2 राजर्षि जनक कपः उपाधि होडमा हेटौडा र बागमती नगरपालिका
रमेश समदर्शी
जारी पाँचौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि फाइनलिस्ट टिम हेटौडाको पिप्ले युवा क्लब र आयोजक बागमती नगरपालिकाले दाबी गरेका छन् ।

स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सोमबार हुने प्रतियोगितामा दुवै टोलीले पहिलो पुरस्कार १० लाख १ हजार नगद र ट्रफीका लागि प्रतिस्पर्धा गर्नेछन् । आइतबार आयोजित प्रिम्याच कन्फरेन्समा बोल्दै हेटौडाका प्रशिक्षक सुविन घिमिरेले आफ्ना भरपर्दा खेलाडी एनएसएल टुर्नामेन्टमा जाने भए पनि प्रतियोगिता जित्ने दाबी गरे ।

आफ्ना खेलाडीको मिहेनतले फाइनल पुगेको र त्यसलाई निरन्तरता दिँदै जीत निकाल्ने पनि उनले दाबी गरे । जीतका लागि अन्तिम समयसम्म लडाइँ जारी रहने उनको भनाइ छ । बागमतीको घरेलु मैदानमा जीत निकाल्नु चानचुने नभएको भन्दै उनले आयोजकसँग भिड्दा खेलाडीले शतप्रतिशत मिहेनत गर्ने पनि सुनाए ।

यस्तै, आयोजकसँग भिड्दा केही दबाब झेल्नु परे पनि आफूहरु तयार रहेको भन्दै उनले ९० मिनेटभित्र रिजल्ट निस्कने पनि बताए । त्यस्तै, उपकप्तान आकाश कटुवालले टिमले जीतका लागि खेल्ने बताए ।

आयोजक बागमतीका प्रशिक्षक सुनिल श्रेष्ठले यस सिजनमा पहिलोपटक फाइनलमा आफ्नो टिममा पुगेकाले पनि उपाधि रक्षा गर्न तयार गर्न रहेको बताए । अहिलेसम्म सेमिफाइनलमात्र खेलेको टिमले ब्रेक गरेर फाइनल खेलेकाले पनि खेलाडी उत्साहित रहेको उनको भनाइ थियो । यसअघिका प्रतियोगितामा ए डिभिजिनका क्लबसँग खेलेकाले आफ्ना खेलाडीको अनुभव बढेको उनको दाबी छ ।

यस्तै, बागमतीका कप्तान विजय घलानले आफ्नो टिममा नयाँ कुनै खेलाडी नरहने स्पष्ट पारे । त्यस्तै, घरेलु दर्शक र समर्थकको अपेक्षालाई जीवितै राखेर निराश नबनाउने दाबी पनि कप्तान घलानले गरे ।

बाग्मती युवा क्लब र बाग्मती नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगितामा विदेशी २ टोलीसहित १० टिम सहभागी थिए । प्रतियोगिताको विजेताले नगद १० लाख एक हजार पाउँदा उपविजेताले नगद ५ लाख ५ सय र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।
Post Comments