Province 3 नेपाल नयाँ अनुभव, नयाँ चुनौतिः पोसिन्कोविक
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलको इतिहास मै पहिलोपटक आयोजना हुन गईरहेको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) धेरै नेपाली फुटबल पारखीहरुका लागि प्रतिक्षाको विषय बनेको छ ।

यहि आउँदो नयाँ बर्ष २०७८ सालको बैशाख ११ गतेदेखि शुरु हुन गईरहेको लिगमा देशका विभिन्न सात शहरका टोलीहरुले सहभागिता जनाउने तय भइसकेको छ । साथै त्यसका लागि खेलाडीहरुको अक्सन पनि सम्पन्न भइसकेको छ ।

लिगमा सहभागिता जनाउने सात टोलीहरुमध्ये एक हो ललितपुर सिटी फुटबल क्लब । जसको मार्की खेलाडी छन्, नेपालका स्टार मिडफिल्डर अन्जन बिष्ट । क्लबको मुख्य प्रशिक्षकमा छन्, नेपाली मूलका अमेरिकी फुटबल प्रशिक्षक प्र्िदप हुमागाई ।

त्यहि ललितपुर सिटीले नेपाली फुटबलमा नयाँ आयाम थप्ने क्रममा टोलीमा पहिलोपटक युरोपियन खेलाडीलाई अनुवन्ध गरेको छ । ललितपुरले आइतबार क्रोएशियन विंगर विलिम पोसिन्कोविकलाई अनुवन्ध गरेको कुरा आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्यो ।

क्रोएशिया, फिनल्याण्ड, बुल्गेरिया, ग्रीस, टर्की, बोस्निया जस्ता युरोपका विभिन्न देशहरुमा खेलेको अ्नुभव संगालेका ३० बर्षिय पोसिन्कोविकले ललितपुर सिटी फुटबल क्लबलाई थप बलियो बनाउने अनुमान गरिएको छ । पोसिन्कोविकले बुल्गेरियन क्लब लुकोमोटिव प्लोवडिवका लागि खेल्दै सन् २०१८–१९ मा बुल्गेरियन कप पनि जितेका थिए ।

“नयाँ चुनौति र नयाँ अनुभवका लागि तयार”

नेपाल आउनु अघि गत बर्षसम्म एक सिजन बोस्नियन क्लब रडनिक बिजेलजिनाका लागि खेलेका पोसिन्कोविकले नेपाल आफ्ना लागि नयाँ चुनौति र नयाँ अनुभव भएको बताए । साथै उनले नयाँ चुनौति सामना गर्न आफू तयार रहेको समेत स्पष्ट पारे ।

गोलनेपालसँग कुराकानीका क्रममा उनी भन्छन्, “भर्खरै नेपाल आइपुगेको छु । यो मेरो लागि एउटा नयाँ अनुभव र चुनौति हो । लिग शुरु भएपछि यसबारे सबै थाहा हुनेछ । साथै मलाई आशा छ यो राम्रो पनि हुनेछ ।”

सात टोलीहरुको फ्रेन्चाईज भिडन्त

नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा बैशाख ११ गतेदेखि २५ गतेसम्म हुने नेपाल सुपर लिगका सबै खेलहरु त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक सहयोगी रहने सुपर लिगमा ललितपुर सिटीसहित काठमाडौं रेजर्स, धनगढी एफसी, बिराटनगर सिटी एफसी, बुटवल लुम्बिनी एफसी, एफसी चितवन र पोखरा थन्डर्स गरि सात टोलीहरु उपाधिका लागि भिड्न छन् ।

 

Post Comments