Province 3 बंगलादेश र भारतको बराबरी
गोलनेपाल

काठमाडौं । साफ यु–२० महिला च्याम्पियनसिपमा आयोजक बंगलादेश र बलियो टोली भारतले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार भएको लिग चरणको आ–आफ्नो दोस्रो खेलमा बंगलादेश र भारतले बराबरी खेल्दै अँक बाँडेका हुन् ।

यो नतिजापछि नेपालको फाइनल प्रवेशको सम्भावना केही कठिन र निर्णायक मोडमा पुगेको छ । लिग चरणको आफ्नो पहिलो खेलमा भारतले भुटानमाथि १२–० को फराकिलो जित हात पारेको थियो भने बंगलादेशले नेपाललाई ३–१ ले हराएको थियो ।

दुई खेलको समाप्तीसम्म समान ४–४ अंक भए तापनि भारत राम्रो गोलभिन्नताका आधारमा शिर्ष स्थानमा छ भने बंगलादेश दोस्रो स्थानमा छ । त्यस्तै नेपाल ३ अंकका साथ तेस्रो स्थानमा रहँदा भुटान अंकविहीन रुपमा पुछारमा छ ।

मंगलबार निर्णायक खेलमा नेपालले भारतको सामना गर्नेछ । जुन खेलमा नेपाललाई निश्चित जितको खाँचो पर्नेछ । भारतलाई भने बराबरी गरे पनि प्रर्याप्त हुनेछ । सोही दिन बंगलादेशले तुलनात्मक रुपमा कमजोर र प्रतियोगिताबाट बाहिरिसकेको भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

लिग चरणबाट शिर्ष स्थान हासिल गर्ने दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।

Post Comments