Province 3 पिपल्स च्वाइस अवार्डमा फुटबलका अन्जन
गोलनेपाल

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले वार्षिक रुपमा आयोजना गर्दै आएको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्डतर्फ यस वर्षको पिपल्स च्वाइस अवार्ड मनोनयनमा फुटबलका चर्चित खेलाडी अन्जन बिष्ट पनि परेका छन् ।

हाल भारतको चर्चित आई लिगमा केन्क्रे एफसीका लागि खेलिरहेका अन्जनसँगै क्रिकेटका आसिफ शेख, पौडीकी ढुवाना लामा, टेनिसकी अभिलाषा विष्ट र भलिबलकी उषा भण्डारी परेकी छिन् । आयोजक मञ्चका अनुसार भोटिङ्गका आधारमा यो अवार्डको विजेता छनौट गरिनेछ ।

जसका लागि इसेवाबाट ५० प्रतिशत मतभार रहेको छ भने फेसबुक पेजमा गरिने भोटिङ्गको २५ प्रतिशत मतभार रहेको छ । त्यस्तै प्रशिक्षकहरुले गर्ने मतभार १२.५ प्रतिशत तथा खेलकुद पत्रकारहरुले गर्ने भोटिङ्गको मतभार पनि समान १२.५ प्रतिशत रहेको मञ्चले जनाएको छ ।

यो विधातर्फको विजेताले एक थान मोटरसाइकल हात पार्नेछ । स्मरण रहोस, खेलकुद पत्रकार मञ्चको आयोजनामा यस वर्षको स्पोर्टस अवार्ड आउँदो फागुन २३ गतेका दिन कमलादी स्थित प्रज्ञा भवनमा हुँदैछ । यस वर्ष उत्कृष्ट युवा खेलाडीलाई पनि मोटरसाइकल पुरस्कार दिईने घोषणा गरिएको छ । त्यसवाहेक विभिन्न विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको मञ्चले जनाएको छ ।

Post Comments