
पोखरा । हेमजा यूनाइटेडले “युवा एकता र विकासका लागि खेलकुद”भन्ने मूल नारासहित (३५ वर्ष भन्दा माथि) गत १० गतेदेखि आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि वडा १ र वडा १५ भिड्ने भएको छ ।
बिहीबार वडा २५ र १ बीच भएको सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटमार्फत वडा १ ले वडा २५ लाई ५–३ को गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । यसअघि निर्धारित समयमा उक्त खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा वडा १५ ले वडा ५ लाई ४–१ को गोल अन्तरले पराजित गर्दै फाइनलमा वडा १ सँगको भेट पक्का गर्याे । अब फाइनल खेल शनिबार दिउँसो १ बजे सञ्चालन हुने खेल संयोजक इन्द्र बहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार उक्त प्रतियोगिताको विजेताले नगद रु १ लाख ११ हजार १ सय ११ र उप–विजेताले नगद रु ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।