Province 4 सहज जितका साथ एपिएफ सेमिफाइनलमा
उमेश पुन

पोखरा । राम्रो लयमा देखिएको सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब जारी २०औं आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार पोखरा रंगशालामा भएको पहिलो क्वाटरफाइनलमा एपिएफले पाहुना टोली बिवाईएससी, मिनेसोटा, अमेरिकालाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । खेलमा पहिलो हाफ दुवै टोलीले बराबरी खेले तापनि दोस्रो हाफमा भने पाहुना टोलीले अग्रता लिएको थियो ।

मेगल पालाफोक्सको गोलबाट अग्रता बनाएको बिवाईएससीले त्यसलाई जोगाई राख्न सकेन । खेलमा एपिएफले उत्कृष्ट पूनःरागमन गर्यो । खेलको ६९औं मिनटमा आवाश लामिछानेले पेनाल्टीबाट एपिएफका लागि बराबरी गोल फर्काउन सफल भए । त्यसपछि भने एपिएफले लय समात्यो ।

८४औं मिनटमा रबि थिङले एपिएफका लागि दोस्रो गोल गरे भने लगतै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल थप्दै टोलीको उत्कृष्ट जित सुनिश्चित गरे । रबि थिङ नै खेलको म्यान अफ द म्याच समेत चुनिए । त्यसवापत उनले नगद ८ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत माघ ९ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि माघ १५ गतेका दिन हुनेछ ।

Post Comments