Province 4 पुलिसको चुनौति समाप्त पार्दै मनाङ सेमिफाइनलमा
उमेश पुन

पोखरा । उपाधिको दावेदार मध्ये एक मानिएको एनओसी मनाङ मस्र्याङ्दी क्लब यहाँ जारी २०औं आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ मनाङले विभागीय टोली नेपाल पुलिस क्लबको चुनौति २–० ले पन्छाउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा मनाङले दुवै गोल दोस्रो हाफमा गर्यो ।

६५औं मिनटमा रुपेश केसीको गोलबाट मनाङले खेलमा अग्रता लिएको थियो । दोस्रो गोल भने अन्तिमतिर ८७औं मिनटमा अनुभवी फरवार्ड आफिज ओलावालेले गरे । ओलावाले नै खेलको म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तरगत माघ १० गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल डिफेन्डिङ च्याम्पियन संकटा क्लब र लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि माघ १५ गतेका दिन हुनेछ ।

Post Comments