Province 4 ठमेल–११ भेट्रानलाई उपाधि
उमेश पुन

पोखरा । यहाँ सम्पन्न प्रथम हिमालयन ब्रुअरी प्रा.लि. तथा १२औं बगर भाई खलक भेट्रान कप एट ए साईड फुटबल प्रतियोगिताको उपाधि ठमेल–११ भेट्रान, काठमाडौंले जितेको छ ।

फाइनलमा ठमेल भेट्रानले दिप युनाइटेड भेट्रान, पोखरालाई टाईब्रेकरमा २–१ ले हराउँदै उपाधि जितेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

फाइनल खेलमा ठमेल भेट्रानका गोलरक्षक सञ्जिव खड्गी म्यान अफ द म्याच चुनिए । विजेता बनेको ठमेल भेट्रानले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता दिप युनाइटेडले १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी दिप युनाइटेडका प्रविन कुमार बने । उनले पुरस्कार वापत नगद १५ हजार र ट्रफी हात पारे । उत्कृष्ट गोलरक्षक ठमेलका सञ्जिव खड्गी चुनिए भने उत्कृष्ट डिफेन्डर पनि ठमेल कै टासी छिरिङ्ग घोषित भए । उत्कृष्ट मिडफिल्डर दिप युनाइटेडका अन्तिम गुरुङ बन्दा उत्कृष्ट फरवार्ड ठमेलका सागर थापा घोषित भए । उत्कृष्ट प्रशिक्षक पनि ठमेल कै प्रदिप श्रेष्ठ घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव घनश्याम पौडेल लगायतका अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।

बगर घाई खलक, पोखराको आयोजनामा माघ ३ गतेदेखि शुरु प्रतियोगितामा नेपाल र भारतका गरी कुल २४ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments