Province 4 फुटबलर गुरुङ्ग गृहजिल्लामा सम्मानित
सुरज राना मगर

आँबुखैरेनी । मोफसलबाट फुटबल करियर शुरु गर्दै राष्ट्रियस्तरमा आफूलाई स्थापित गर्न र उभ्याउन सफल तनहुँका सन्त बहादुर गुरुङ्ग (कान्छा) गृहनगर आँबुखैरेनीमा सम्मानित भएका छन् ।

आँबुखैरेनी गाउँपालिका, तनहुँको सातौं स्थापना दिवसको अवसरमा फुटबलर गुरुङ्ग सम्मानित भएका हुन् । खेलाडीका रुपमा फुटबलको माध्यमबाट आँबुखैरेनी गाउँपालिका र समग्र तनहुँ जिल्ला कै प्रतिष्ठा बृद्धि गर्न गुरुङ्गले पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै उनलाई सम्मानित गरिएको हो ।

एक कार्यक्रमका बीच फुटबल खेलाडी कान्छा गुरुङ्गलाई नगद १० हजार, सम्मानपत्र र खादा ओडाई सम्मानित गरिएको थियो । सम्मानित भएपछि फुटबलर गुरुङ्गले खुशी व्यक्त गरे । गृहजिल्लामा पाएको यो सम्मानले आफूलाई फुटबलमा अझै मेहनत गर्न हौसला मिलेको पनि उनले बताए । साथै आफू यो ठाउँसम्म आइपुग्न घरपरिवार, साथीभाई, पूर्व र वर्तमान क्लबहरु सबैको राम्रो साथ पाएको पनि उनले बताए ।

अल स्टार क्लब, आँबुखैरेनी, तनहुँबाट फुटबल करियर शुरु गरेका उनले त्यसपछि सरस्वती युथ क्लब, संकटा क्लब, च्यासल युथ क्लबका लागि नेपालको शिर्ष लिग पनि खेलेका थिए ।

गत सिजन भने उनले जावलाखेल युथ क्लबका लागि ए डिभिजन लिग खेलेका थिए । त्यसबाहेक उनले मोफसल र छिमेकी देश भारतमा पनि थुप्रै प्रतियोगिताहरुमा सहभागिता जनाएर उत्कृष्ट खेलाडीको पुरस्कार र उपाधि पनि जितिसकेका छन् । उनका दाई आश गुरुङ्ग पनि राष्ट्रियस्तरमा फुटबलका राम्रा खेलाडी समेत हुन् ।

फुटबल मैदानमा कान्छा अग्रपंक्तिमा खेल्छन् भने उनका दाजु आश गुरुङ्ग रक्षापंक्तिमा खेल्ने गर्दछन् ।

Post Comments