बुटवल । हिमालयन डायलग प्रा.लि. को आयोजना तथा रुपन्देही जिल्ला फुटबल संघको समन्वय र व्यवस्थापनमा मंगलबारदेखि रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप राष्ट्रिय यु–१८ अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता शुरु भएको छ ।
बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार) र एन्फा एकेडेमी बुटवलका निर्देशक बुद्धि बहादुर गुरुङले संयुक्त रुपमा गरे । सो अवसर रुपन्देही जिल्ला फुटबल संघका सचिव शंकर मल्लाह, नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीका अध्यक्ष सुमन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा बुटवल पब्लिक स्कुलले ड्रिम भिजन स्कुललाई २–१ ले हराउँदै विजयी शुरुवात गर्यो । खेलमा बुटवल पब्लिकका लागि रोशनी गौतम र मानवी खनालले गोल गरिन् । त्यस्तै ड्रिम भिजनका लागि भने राखी श्रेष्ठले पेनाल्टीमार्फत गोल फर्काएकी थिईन् ।
प्रतियोगितामा रुपन्देहीका कुल १४ विद्यालयका छात्रा फुटबल टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले काठमाडौंमा हुने अन्तिम चरणको निर्णायक प्रतियोगितामा रुपन्देहीको प्रतिनिधित्व गर्नेछ ।