Province 5 फर्साटिकर लिस्नु कपको फाइनलमा
सुरज राना मगर

तिलोत्तमा । फर्साटिकर युवा क्लब यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति २०औं लिस्नु कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न सेमिफाइनल भिडन्तमा सञ्जिवनी युवा क्लब, देवीनगरलाई १–२ ले हराउँदै फर्साटिकर फाइनलमा प्रवेश गरेको हो ।

कोटिहवा स्थि पशुपति माविको खेलमैदानमा सम्पन्न खेलको ६८औं मिनटमा विजय श्रेष्ठको पेनाल्टी गोलबाट सञ्जिवनीले खेलमा अग्रता बनाएको थियो । यद्यपि खेलको अन्तिमतिर निरज चौधरीले लगातार दुई गोल गर्दै फर्साटिकरलाई रोमाञ्चक जित दिलाएका थिए ।

त्यस्तै खेलका क्रममा विवादमा उत्रिएपछि रेफ्रीले सञ्जिवनीका आशिष गुरुङ र सुरज घलान तथा फर्साटिकरका मुकेश कुँवरलाई रातो कार्ड देखाएका थिए । खेल केहीबेर तनावपुर्ण पनि बनेको थियो ।

खेलमा फर्साटिकरका निरज चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे । त्यस्तै म्यान अफ द ममेन्टको पुरस्कार सञ्जिवनीका बिजय श्रेष्ठले प्राप्त गरे । उनले त्यसवापत आकर्षक गिफ्ट ह्याम्पर हात पारे ।

अब फाइनल खेल असोज ३ गते सोमबारका दिन आयोजक लिस्नु युवा क्लब, कोटिहवा र फर्साटिकर युवा क्लब, फर्साटिकर बीच हुने खेल संयोजक नेम बहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीले पनि जनही २५–२५ हजार पाउने आयोजक क्लबका अध्यक्ष तिर्थ मल्लले बताए ।

Post Comments