Province 5 दशौं नवयुवा कप शुरु, योङ स्टारको विजयी शुरुवात
सुरज राना मगर

ठुटिपिपल । रुपन्देही जिल्लाको पुरानो क्लब मध्ये एक नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ओमसतिया–१, ठुटिपिपलको आयोजनामा सोमबारदेखि १०औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

ठुटिपिपल स्थित कर्मडाँडा खेलमैदानमा भएको उद्घाटन खेलमा योङ स्टार क्लब, मडाहाले विजयी शुरुवात गर्यो । उद्घाटन खेलमा योङ स्टारले द राईजिङ क्लबलाई टाईब्रेकरमा ५–४ ले हराउँदै विजयी शुरुवात गरेको हो । त्यसअघि निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ पहिलो हाफको १९औं मिनटमा सचिन गुरुङको आत्मघाती गोलबाट द राईजिङ्गले खेलमा अग्रता बनाएको थियो । यद्यपि दोस्रो हाफतर्फ ५८औं मिनटमा लक्ष्मीत थापाले योङ स्टारका लागि बराबरी गोल फर्काएका थिए । टाईब्रेकरमा भने योङ स्टारले नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा लक्ष्मीत थापा नै म्यान अफ द म्याच समेत चुनिए ।

यो जितसँगै योङ स्टार क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत माघ २४ गते मंगलबारको खेल लिस्नु युवा क्लब, कोटिहवा र सनराईज एफसी, भूमही बीच हुने खेल संयोजक बिष्णु बराल मगरले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले गरेका थिए । आगामी फागुन ९ गतेसम्म चल्ने प्रतियोगितामा कुल १६ टोलीहरु सहभागि छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष चन्द्र गुरुङ्गले बताए ।

 

Post Comments