Province 5 बुद्ध युवा क्लबलाई चरङ्गे कपको उपाधि
सुरज राना मगर

बुटवल । बुद्ध युवा क्लब, भलुहीले प्रथम चरङ्गे कप सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा बुद्धले सयपत्री युवा क्लबलाई पेनाल्टी शुटआउटमा ४–३ ले हरायो ।

देवदह–१० चरङ्गे स्थित चिसापानी खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले प्रतिस्पर्धात्मक रुपमा गोलरहित बराबरी खेलेका थिए । पेनाल्टी शुटआउटमा भने बुद्ध युवाले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

विजेता बनेको बुद्ध युवा क्लबले उपाधिसहित नगद २५ हजार हात पार्यो भने उपविजेताले १५ हजार प्राप्त गर्यो । फाइनल खेलको म्यान अफ द म्याच बुद्ध युवा क्लब कै कप्तान युवराज पुन घोषित भए ।

नर थापा सर्वोत्कृष्ट खेलाडी

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बुद्ध युवा क्लबका नर थापा घोषित भए । त्यस्तै उत्कृष्ट गोलरक्षक सयपत्रीका बिजय गलामी चुनिए भने उत्कृष्ट डिफेन्डर पनि सयपत्री कै अंगत थापा चुनिए । त्यस्तै उत्कृष्ट फरवार्ड पनि सयपत्री कै रोहन राना बने ।

प्रतियोगिता भरि कुल ७ गोल गरेका आयोजक चरङ्गे फुटबल क्लबका मोहन थापा मगरले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते । विजयी खेलाडीहरुलाई आयोजक चरङ्गे युवा क्लबका अध्यक्ष अमर सिंह राना लगायत अतिथीहरुले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता संयोजक साहिन्स रानाको स्वागत र सञ्चालनमा भएको फाइनल कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्याउने महानुभावहरुलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा आयोजक क्लबका अध्यक्ष रानाले प्रतियोगितालाई आगामी संस्करणमा थप भव्यताका साथ सम्पन्न गर्ने योजना रहेको बताए ।

साथै अध्यक्ष रानाले प्रतियोगिता सफलताका साथ सम्पन्न सहयोग पुर्याउने सबैलाई धन्यवाद र आभार प्रकट गरे । चरङ्गे फुटबल क्लब, देवदह–१० चरङ्गेको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल २० टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments